बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थाले

आइतवार, माघ ८, २०७९
ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिकामोलुङ र चिशंखुगढी गाउँपालिकामा रहेका ११ वटा बाख्रापालक किसान समूहमा समृद्धिले काम गरिरहेको छ । सबै समूहमा किसान र व्यापारीबीच सम्बन्ध विकास गरेर बजार जोड्ने काम भइरहेको समृद्धि आयोजनाका आपूर्ति श्रृंखला सुपरीवेक्षक नवराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमको प्रभावका कारण ओखलढुंगा सदरमुकाम र काठमाडौँमा कारोबार गर्ने जिल्लाका मुख्य व्यापारीसँग किसान समूहले सोझै पहुँच राख्न थालेका छन् । समृद्धि आयोजनाले किसान समूहलाई बजारसँग जोड्न थालेपछि किसानहरु सामुहिक बजारीकरण गरेर उत्पादित खसीबोका बिक्री गर्ने परम्पराको अभ्यास गर्न उत्साहित देखिएका छन् । सामुहिक रुपमा खसीबोका संकलन गरेर बिक्री गर्दा खसीबोका व्यापारीले मूल्य बढी दिने अवस्था देखिएको सिद्धिचरण नगरपालिका १ तलुवाको मैतदेवी बाख्रापालक किसान समूहका अध्यक्ष हर्कबहादुर घिमिरेले जानकारी दिनुभयो । हेरेकै भरमा मोलमोलाइ गर्दा बाख्रापालक किसान ठगिने समस्या समाधान गर्न समृद्धिले जिउँदै खसीबोका जोखेर किनबेच गर्ने चलन पनि जिल्लामा सुरुवात गरिसकेको छ । समृद्धिको अगुवाईमा जिल्लामा २ वर्षअघि सिद्धिचरण नगरपालिका १० बेतिनीमा रहेको नमुना बाख्रापालक किसान समूहबाट जिउँदै जोखेर किनबेच सुरु भएको थियो । अहिले त्यसको प्रभाव जिल्लाभर देखिएको उक्त समूहका अध्यक्ष घनश्याम बाँस्तोलाले बताउनुभयो । आयोजनाले जिल्लामा तरकारीका क्षेत्रमा पनि काम गरिरहेको छ । तरकारीलाई पनि बजार जोड्ने काम भइरहेको समृद्धि आयोजनाले जनाएको छ ।
सम्बन्धित खबर