बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने पक्का

शुक्रवार, पौष ८, २०७९
भद्रपुर, पुस ७ । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ । झापा फुटबलको उर्वर भूमि हो भने सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो हो । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रंगशाला देशका चर्चित र सफल खेलाडीहरुको प्रारम्भिक खेल मैदान हो । १८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन । ‘यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ’, अध्यक्ष ढकालले भन्नुभयो। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठनबाट स्पोन्सरका रुपमा संकलन गरिने सहकोषाध्यक्ष अजय साहेवालाले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ । यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताउनुभयो । ढकालका अनुसार भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थीलाई खेल हेर्न टिकट लाग्ने छैन । त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिनुभयो ।
सम्बन्धित खबर