बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने

मङ्गलवार, पौष ५, २०७९
बिर्तामोड, पुस ३ । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आजबाट सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ । २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि चन्द्रगढीमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन । स्थानीय खेलाडीले प्रशिक्षण गर्दा मैदान जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरिएको अध्यक्ष ढकालले जानकारी दिए । खेल मैदानमा झार सुकेको तथा धेरै भागमा झार नै नरहेकाले पानीले भिजाएर नयाँ झार रोप्ने काम भइरहेको छ । समितिले पार्किङका लागि आवश्यक ठाउँसमेत तयार पार्दैछ । फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको थियो । ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको अध्यक्ष ढकालले बताए । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहनेछ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्टाएको छ । फागुन दोस्रो साता हुने भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मुल आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि निर्माण गरिरहेको छ ।
सम्बन्धित खबर