बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

देवघाटमा जग्गा अतिक्रमण गर्न माओवादी कार्यकर्तालाई भरतपुर महानगरको सहयोग

मङ्गलवार, वैशाख २७, २०७९

२०७९ बैसाख २७/ देवघाट क्षेत्रमा धार्मिक उदेश्यले संरक्षण गरेर राखिएका जग्गाहरु किनबेचमा भरतपुर महानगरले मौन रुपमा सहयोग गरेको पाइएकोछ । देवघाट क्षेत्र विकास समितिको चितवन तर्फको भरतपुर महानगरपालिकाको वडा नम्वर १ देवघाटमा रहेको सार्वजनिक जग्गा दिनानुदिन अतिक्रमण हुँदा देवघाटबासीहरु आश्चर्यमा छन् ।
अझ अतिक्रमित जग्गामा बनाइएको भवन शिलान्यास गर्न आफै जाने र त्यो भवनमा समेत महानगरको तर्फबाट बजेट निकासा गरिदिने निवर्तमान मेयर रेनु दाहालको कार्यप्रति क्षेत्र बिकास समितिका अध्यक्ष बद्री अधिकारीले समेत आपत्ति जनाएका छन् । मठाधिशदेखि माओवादीसम्मको संलग्नता सुवेदी समाजको नाममा केही समय अगाडि महानगरबाट बजेट समेत दिएर स्वयम् दाहालले शिलान्यास गरेकोप्रति क्षेत्र बिकास समितिका अध्यक्ष अधिकारीले आपत्ति जनाएका हुन् । देवघाट क्षेत्रमा महानगरबाट रकम निकासा गरी समितिलाई केही जानकारी नदिई मेयर स्वयम शिलन्यास गर्न जाँदा जग्गा अतिक्रमण र किनबेचमा प्रश्रय मिलेको अध्यक्ष अधिकारीले बताए ।त्यसैगरी, भरतपुर महानगरपालिकाको वडा नम्वर १ देवघाट क्षेत्रमा नै रत्न कँडेलले सार्वजनिक जग्गा मिचेर व्यक्तिगत घर निर्माण गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्वर १ लाई देवघाट क्षेत्र बिकास समितिले जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको अध्यक्ष अधिकारीले बताए । कँडेल माओवादीका सक्रिय कार्यकर्ता हुन् । अहिलेको स्थानीय निर्वाचनमा उनी भरतपुर महानगरको १ नम्बर वडामा माओवादीबाट वडाध्यक्षका लागि सिफारिसमा परेका थिए ।
देवघाट टोल विकास संस्थाका अध्यक्ष मन्दिरका पिठाधीस मुकुन्दशरण सिग्देलले केही समय अगाडि नदी तटीय जग्गा अतिक्रमण गरी आश्रमको नाममा व्यवसायीक भवन बनाए । शवदाह स्थलसंगै बनेको सो व्यावसायिक भवन ४० लाख रुपैयाँमा देवघाटमा नै बस्ने जगनाथ पोख्रेललाई बिक्री गरेको भेटिएको छ । नदी तटीय क्षेत्रको जग्गामा भवन बनाउन र किनबेच रोक्न क्षेत्र विकासले महानगरलाई जानकारी गरायो, तर भरतपुर महानगरले सो कार्य रोक्न कुनै सुनुवाई नै गरेन । यस विषयमा देवघाट सार्वजनिक सरकारी नदीतटीय जग्गा अतिक्रमण विरुद्धको संरक्षण अभियान, चितवनले समेत क्षेत्र विकास समितिलाई ध्यानकर्षण गराएको थियो । भरतपुर महानगरको मेयर देवघाट क्षेत्र बिकास समितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
सुकुम्बासीको नाममा हुकुम्बासी सन्तबहादुर गुरुङ्ग विगत २८ वर्षदेखि देवघाट क्षेत्र विकास समितिको चितवनतर्फको एनआरएन वृद्धाश्रमको छेउमा रहेको क्षेत्र बिकास समितिको जग्गामा बसोवास गर्दै आएका छन् । उनी सुकुम्बासी भएको भन्दै क्षेत्र विकास समितिले अहिलेसम्म उनको बसोवासलाई केही गरेको थिएन ।
तर २०७८ वैशाख लागेसंगै सन्तबहादुरले कब्जा गरेर बसेको ठाँउमा टहराहरु बन्न थाले । साना–साना पाँच वटासम्म टहरा बन्दै गरेको देखेपछि क्षेत्र विकासले पत्र काटेर सो टहरा नबनाउन भन्यो । तर टहरा बनाउने काम रोकिएन । क्षेत्र विकासले खोज्दै जाँदा सन्तबहादुरका छोरीहरु र भतिजहरुले बनाएको पाइयो । देवघाट क्षेत्र विकासले सरोकारवालाको भेला नै राखेर निर्माण कार्य रोक्न लगायो । देवघाट क्षेत्र विकास समितिले सन्तबहादुरको खोजी गर्दै जादा उनी सुकुम्बासी नभएको पुष्टि ग¥यो । विगत २८ वर्ष देखि बृहत धार्मिक प्रवचनको आडैमा वसोवास गदै आएका सन्तबहादुरले विगत २८ वर्ष अगाडि नै एक कठ्ठा जग्गा यज्ञशाला मार्फत पाएका थिए । सो एक कठ्ठा जग्गा २०७८ वैशाख महिनामा सन्तबहादुरले एक कठ्ठा जग्गा कश्य गोत्रीय अधिकारी समाजलाई १३ लाख ७५ हजारमा विक्री गरे । विश्व शान्ति महायज्ञ यज्ञशालाले समेत यसरी जग्गा बेच्न पाउँदैन ।
यज्ञशालाको जग्गामा मनपरी राजा महेन्द्रले बागेश्वरीमा रहेको दरवारमा आउँदा २०१८ सालमा रुद्री, पुजा, होम गर्नका लागि विश्व शान्ति महायज्ञ यज्ञशालालाई केही जग्गा मौखिक रुपमा दिएका थिए । विश्व शान्ति महायज्ञ यज्ञशालाले देवघाट क्षेत्र विकास समितिको भौगोलिक कार्यक्षेत्र भित्र रहेको पाँच बिगाह जग्गा आफ्नो भनी उपभोग गर्दै आयो । २०५७ सालमा देवघाट क्षेत्र विकास समितिले दुई विगाह जग्गा आफ्नो अधिनमा लियो । दुई विघा मध्ये एक विघा जग्गामा एनआरएन वृद्धाश्रमलाई नीतिगत निर्णय गरी आश्रम सञ्चालनको लागि दिइयो । सो आश्रम भने हाल गलेश्वर आश्रमले लोक कल्याणकारी रुपमा सञ्चालन गरीरहेको छ । उता विश्व शान्ति महायज्ञ यज्ञशालाको नाममा तिन विघा जग्गा बाँकी रह्यो । तर विश्व शान्ति महायज्ञ यज्ञशालाले भने होम होमाधि र मन्दिर सञ्चालनमा गाह्रो भएको भन्दै आफ्नो जग्गा अनाधिकृत रुपमा बिक्री गदै गयो । विश्व शान्ति महायज्ञ यज्ञशालाले यसभन्दा अगाडि पनि थुप्रै जग्गाहरु विभिन्न संघ संस्थालाई बिक्री गरेको भन्दै क्षेत्र विकास समितिले आपत्ति जनाउँदै आईरहेको छ । समितिको पदेन सदस्य भरतपुर महानगरका मेयर रेनु दाहाललाई यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि दाहालवाट कुनै पहल कदमी नलिएको भन्दै क्षेत्र विकास समितिले आपत्ति जनाएको हो ।विश्व शान्ति महायज्ञको नाममा रहेको तीन विघा जग्गा किनबेच गर्ने अधिकार सो संस्थालाई नभएको भन्दै संस्थाले गरेको काम प्रति कार्यकारी निर्देशक धिरण घिमिरेले पनि आपत्ति जनाएका छन् । देवघाट क्षेत्र विकास समितिको चितवनतर्फको जग्गाहरु बिक्री वितरण हुँदा उक्त यज्ञशालाले अनधिकृत रुपमा सरकारलाई समेत चुनौती दिदै राजश्वको रुपमा एक लाख देखि तीन लाख रुपैयाँसम्म लिने गरेको छ । सो यज्ञशालाको नाममा बाँकी रहेको तीन विघा जग्गामा अहिले कश्यप गोत्रीय अधिकारी समाज, रामजानकी बालिका आश्रम, कोईराला समाज, र दवाडी समाज र भोगचलन गदै आएका छन् ।
यज्ञशालाको अपारदर्शी पाटो क्षेत्र विकासका कार्यकारी निर्देशक घिमिरे सयौँ वर्षसम्म पनि उक्त तीन विघा जग्गा विश्व शान्ति महायज्ञ यज्ञशालाको नाममा हुुनुपर्ने बताउँछन् । पारिवारीक रुपमा सञ्चालन भईरहेको विश्व शान्ति महायज्ञ यज्ञशालालाई आर्थिक पाटोलाई साधारण सभा तथा अधिवेशनमार्फत पारदर्शी रुपमा सञ्चालन गर्न आग्रह गरे ।
यज्ञशालाको जग्गाको अवैधानिक किनबेचलाई वैधानिक बनाउन मठमन्दिर तथा आश्रमलाई दस्तुरसमेत बुझाउने गरेको पाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारी जुन संघ संस्थालाई जुन उदेश्यले जग्गा दिईएको हो, सो जग्गा सोही उद्देश्यमा मात्रै प्रयोग हुनुपर्नेमा अघोषित रुपमा विक्री हँुदा कालान्तरमा यसले देवघाटलाई ठूलो हानि पुग्ने बताउँछन् ।
सरकारले नीतिगत निर्णय गरेर तत्कालै पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नुपर्ने उनको भनाइ छ । मठमन्दिर र आश्रमलाई दस्तुर बुझाएर सामाजिक वैधानिकता दिने गरेपनि सरासर गलत भएको अध्यक्ष अधिकारी बताउँछन् । उता यज्ञशालाको समन्वयमा अधिकारी समाजलाई बिक्री गरेको एक कठ्ठा जग्गाको एक लाख ५० हजार रुपैयाँ राजश्व भनी विश्व शान्ति महायज्ञका सञ्चालक लक्ष्मण सुवेदीले लिएको स्वयम सन्तबहादुर तमाङ्गले बताए । सुवेदीले भने जग्गा किन बेच नभएको दाबी गरे । अन्य संघसंस्थालाई बिक्री नगरी आपसी समझदारीमा भोगचलन गरिएको उनको दाबी छ ।अधिकारी समाजका महासचिव युवराज अधिकारीले भने आफुहरुले पैसा नै हालेर जग्गा किनेको बताउँछन् । अधिकारी समाजले वि.स. २०६८ सालमा कश्यप गोत्रीय अधिकारी समाज र विश्व शान्ति महायज्ञ बीचमा दोहोरो सम्झौता गरि १५ लाखमा पाँच कठ्ठा जग्गा लिएको उनले बताए ।
अतिक्रमण झनै बढ्दोदेवघाट क्षेत्रमा थुप्रै संघसंस्था र विभिन्न जातीका मानिसहरुले धार्मिक उद्देश्यले जग्गा ओगटेर बसेका छन् । देवघाट क्षेत्र विकास समितिको भौगोलिक कार्यक्षेत्र भित्र पाँच हजार ४३४ हेक्टर जमिन रहेको छ । त्यसमध्ये चितवनतर्फ करिब २७ बिगाह जग्गा रहेको छ । देवघाट क्षेत्रमा गैरकानुनी रुपमा विक्री हुने सार्वजनिक नदी तटीय जग्गा बिक्री वितरणमा देवघाट क्षेत्र बिकास समितिको ५९औं पूर्ण बैठकले विक्री वितरणमा रोक लगाएको छ । ठूलाबडा र पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने बताए । उनले यस विषयमा यसभन्दा अगाडिका समितिहरुले चासो नदिएको र स्थानीय सरकारले पनि कुनै पहल कदमी नलिदा अहिले काम गर्न गाह्रो भएको बताए ।चितवनतर्फको भुभागमा पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूला–ठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका नामका भवनहरु निर्माण भएको क्षेत्र विकास समितिले जनाएको छ । यससँगै विभिन्न जातजातिका कुल पूजा गर्ने स्थलहरुमा भवनहरु बनेका छन् । त्यस्ता भवनका कारण देवघाट क्षेत्र अहिले कंक्रिटको शहरका रुपमा परिणत हुदै गएको छ भने गुरुयोजना अनुसारका कामहरु गर्न पनि जग्गाको अभाव भएको छ ।

सम्बन्धित खबर