शनिवार, मंसिर ८, २०८१
Sancharmanch

साउदीमा रहेका नेपालीको समस्या समाधानबारे राजदुतसँग श्रममन्त्री श्रेष्ठको छलफल

सोमवार, वैशाख १२, २०७९

२०७९ बैशाख १२/ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदुत नाइफ अलोटाइवीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भयो । सो अवसरमा श्रममन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको साउदी अरेबियामा नेपालीहरु विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदुत अलोटाइवीसँग आग्रह गर्नुभयो । सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानवश्रोत आपुर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उहाँले बताउनुभयो । राजदुत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव पनि गर्नुभएको थियो । अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ती उत्पादन गर्न सीप परिक्षण परियोजना संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । करिव चार लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।

सम्बन्धित खबर