बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पाटीगत दम्भले जनताको काम रोकियो : मेयर खड्ग फागो

आइतवार, चैत २०, २०७८

२०७८ चैत्र २० उर्लाबारी / उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले नेकपा एमालेका जनप्रतिनिधिहरुले बहुमतको दम्भ देखाएर जनताको काम रोकेको बताउनुभयो ।
शनिबार पत्रकार सम्मेलन नै गरेर मेयर फागोले जनताको हित नचाहने जनप्रतिनिधिहरुको कारण उर्लाबारीबासीको काम रोकिएको बताउनुभएको हो । आफ्नो ब्यक्तिगत स्वार्थ नभई आम उर्लाबारीबासीहरुको हितका लागि ल्याइएका योजनाहरु बहुमतको दम्भले रोक्ने काम भएको उल्लेख गर्दै त्यसको आम उर्लाबारीबासीले लेखाजोखा गर्ने उहाँको भनाई छ । जनताको काम गर्न अवरोध भएपछि आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई फिर्ता गरेको उहाँले जानकारी दिनुभयो । चुनाव आउन लागेर भन्दा पनि कार्यपालिका बैठकबाट विकास योजना अघि बढाउन नसकेकोले नैतिक रुपमा अपठ्यारो परेको भन्दै गाडी फिर्ता गरेको उहाँको भनाई छ । गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसेपनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरु नमानेपछि निणर्य हुन सकेन ।
‘विभिन्न कार्यविधि निर्माणका साथै प्रत्येक वडामा तीस लाखका दरले सडक कालोपत्रे साथै अन्य विविध गरी ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौं’ मेयर फागोले भन्नुभयो, ‘कार्यपालिकामा बहुमत रहेका नेकपा एमालेका साथीहरुले निर्णय गर्न नदिएपछि विकास रोकिएको छ । यस्तो अवस्थामा सरकारी गाडी चढेर हिँड्नु उपयुक्त नहुने ठानेर गाडी फिर्ता गरेको हुँ ।’
उहाँले काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई पनि मोटरसाइकल फिर्ता गर्न आग्रह गर्नुभयो । एमालेको अवरोधका कारण जनताको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै फागोले चैत महिनादेखि आफूले सेवा सुविधा नलिने घोषणा पनि गर्नुभयो । उहाँले आफुसहित सबै जनप्रतिनिधिहरुको सेवा सुविधा भुक्तानी नगर्न लेखा प्रशासनलाई निर्देशन दिएको बताउनुभयो । उपमेयर लक्ष्मीदेवी भण्डारीले आफूमाथि मिथ्या आरोप लगाएको बताउँदै उहाँले उक्त आरोपको खण्डन गर्नुभयो । जनप्रतिनिधि आएपछि २५ कार्यविधि, १८ वटा ऐन, ६ वटा नियमावली, ४ वटा निर्देशिका र १ वटा आचारसंहिता बनाएको बताउँदै उहाँले थप कार्यविधि बनाउन खोज्दा एमालेका जनप्रतिनिधिले रोकेको दाबी गर्नुभयो ।
यस्तै, नगरपालिकाको खर्चमा मेयरले मुद्दा लडेको भन्ने उपमेयरको आरोपको विषयमा फागोले भन्नुभयो, ‘पाँच वर्षको कार्यकालमा ३६ वटा मुद्दा परेको छ । प्रायः मुद्दामा नगरपालिका प्रतिवादी छ । केहीमा वडाध्यक्ष प्रतिवादी हुनुहुन्छ । ती सबै मुद्दा लड्दा नगरपालिकाको कोषबाट १ लाख ७० हजार रुपैयाँ खर्च भएको छ ।’
उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले अन्तिम कार्यपालिका बैठकले पास गर्ने ऐन, कार्यविधि, विकास निर्माणका काम चुनाव प्रभावित हुने भन्दै रोकेपनि बजेट र कार्यविधि उर्लाबारीवासीको हितमा भएको र चुनाव आउने बेलामा विकास गतिविधि गर्न हुन्न भन्ने नरहेको उहाँले बताउनुभयो । कार्यपालिका बैठक बस्न नसक्दा प्रदेश समपुरक कोषबाट ०७९÷०८० मा आउने तीन करोड समपुरक अनुदान अब नआउने भएको उहाँले बताउनुभयो । अर्को प्रसंगमा मेयर फागोले पाँच वर्षअघि निर्वाचनताका आफूले व्यक्त गरेका ९१ बुँदे प्रतिवद्धतामध्ये ५४ वटा पुरा भएको बताउनुभयो । यस्तै, आफ्ना प्रतिवद्धतामा उल्लेख नभएको उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत उर्लाबारीको पुर्वपश्चिम राजमार्गमा र अन्य शाखा सडकहरु सडक बत्ति जडान सहित अन्य विकास निर्माणको कार्यपनि भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर