शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

ललिपप ब्यवसायमा महिला

मङ्गलवार, चैत १५, २०७८

२०७८ चैत्र १५/ इलामको कोशेली ललिपप धेरैको रोजाइमा पर्दछ । दुधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकहरुले घर फर्र्किँदा कोशेलीको रुपमा प्राय लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाहरुले रोजगारी समेत पाएका छन् ।धेरै महिला तथा पुरुष रोजगारीको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर बैदेशिक रोजगारीमा समेत जाने गर्दछन् । तर इलामका केही महिलाहरुले सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिला दिदिबहिनीहरुलाई रोजगारी दिन सफल हुनु भएको छ । इलाम तिल्केनीकी दिपा गुरुङको दैनिकी अहिले निकै व्यस्त छ । आठ बर्ष पहिले उहाँले स्थापना गरेको ग्रिन सिटी ललिपप उद्योगमा अहिले ४६ जना महिलाहरुले रोजगारी पाउनु भएको छ । विहान ४ बजेदेखी राती अबेर सम्म उहाँ काममानै व्यस्त रहनु हुन्छ । उहाँको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ । इलाममा मात्र सिमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाण्डौं सम्म पुग्ने गरेको छ । छ जनाबाट सुरु भएको उहाँको उद्योगमा अहिले ४६ जना महिलाले दैनिक काम गर्छन् । पाँच लाखबाट सुरु भएको उहाँको उद्योगले अहिले बार्षिक ३५ लाखसम्म कमाई गर्दै आएको छ ।
इलाम बजारको नजिकै रहेको अर्को ललिपप उद्योगले पनि धेरै महिलालाई रोजगारी दिएको छ । सुस्मा राईले संचालन गर्नुभएको इलामेली ललिपप उद्योगले ३४ जना महिलालाई दैनिक रोजगारी दिएको छ । १२ घण्टा सम्म उहाँहरु काममा व्यस्त रहनुहुन्छ । उहाँको उद्योगमा पनि ललिपप, बम्बैसन, छुर्पी, घ्यू लगायतका परिकार बन्ने गरेको छ ।थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसंगै उहाँहरु आत्मनिर्भर समेत बन्दै जानु भएको छ । उद्योगमा सबैलाई कामको बाडफाड गरिएको छ । मिठाईका परिकारमा लेबल लगाउने, स्टिकर टास्ने, प्याकेजिङ गर्ने काममा महिला दिदिबहिनीहरुलेृ रोजगारी पाउनु भएको छ ।दुधबाट खुवा तयार पारेपछि ललिपप बनाईन्छ । ललिपप संगै बम्बैसन पनि तयार पारिन्छ । १५ बर्ष पहिले सामान्य रुपमा विक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।कतिपय युवायुवती बेरोजगार बनेर विदेश पलायन भइरहेको अवस्थामा इलामका ललिपप उद्योगले धेरैलाई रोजगारी दिइरहेका छन् । कोरोना संक्रमणमा धेरै मार खाएका यी उद्योगलाई टिकाइराख्न राज्यका सम्बन्धित निकायले भने ध्यान दिन नसकिरहेको उद्योगीहरुको भनाई छ । जिल्लामा अनुदानका केही कार्यक्रम आएपनि बास्तविक व्यक्ति सम्म पुग्न नसकेको उद्योगीको गुनासो छ । यस बिषयमा समेत सम्वन्धित निकायले सोच्न आवश्यक छ ।

सम्बन्धित खबर