बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाइ

सोमवार, फागुन ३०, २०७८

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो ।आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८ औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को गोल २१ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेका थिए । मैदानको मध्यभागबाट पेनाल्टीएरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा गोल गरे ।
३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्तीमगरले हेडमार्फत गोल गरे । शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीसँग गोलअन्तर घटाए ।फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । पुरस्कारको प्रायोजन युवा व्यवसायी श्याम प्रसाईंले गरेका हुन् ।प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पाए ।फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपाण्डा फुटबल क्लब, घरेलु टोली झापा–११, आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो ।झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रुपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरे । फाग्न २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिता कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गरे ।

सम्बन्धित खबर