बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन

शनिवार, फागुन १४, २०७८

२०७८ फागुन १४/ प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दुवै पार्टीका नेताहरुको बैठकमा कांग्रेस नेताहरुले प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव गरेका थिए भने एमालेले संसदमा आफूहरु उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको भएको जवाफ दिएको थियो । कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सदनको अवरोध हटाउन र एमसीसी पास गर्नका लागि प्रस्ताव गरेको तर एमालेले स्वीकार नगरेको जानकारी दिनुभयो । प्रतिनिधिसभाको ढोका नखोजेको र यसको जिम्मेवारी सरकारको भएको जवाफ एमालेबाट आएको उहाले बताउनुभयो । उहाले संसद सूचारु हुने र एमसीसी पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले संसदभित्र सभामुखको भूमिकालाई लिएर एमालेले राखेको माग सुनुवाई नभएसम्म अन्य प्रक्रियामा एमालेको सहभागीता नहुने बताउनुभयो । उहाले एमसीसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने बताउनुभयो । उहाले सरकारले र सत्ता गठबन्धनको धारणा नआएसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने बताउनुभयो । दुबै दलका नेताहरुले सहमतिको प्रयास स्वरुप छलफललाई निरन्तरता दिने जनाएका छन् ।

सम्बन्धित खबर