बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

जावलाखेल युथ क्लब र संकटा क्लब तथा थ्री स्टार र ब्रिगेड ब्वाइज बराबरीमा

शुक्रवार, फागुन १३, २०७८

२०७८ फागुन १३/ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लब तथा थ्री स्टार र ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेलेको हो ।प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने जावलाखेलले बनाएको थियो । तर, त्यसलाई जावलाखेलले जोगाउन सकेन । खेलको १४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६१ औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १(१ गोलको बराबरीमा ल्याए । सुबाश गुरुङको कर्नरमा उनले हेडर मार्फत गोल गरे । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोडेर सिजनको अन्त्य गरेको छ । संकटाले १३ खेलमा १६ अंक सहित सिजनको अन्त्य गरेको छ । त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार थ्री स्टारले पनि ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडले बनाएको सुरुआती अग्रता उल्टाएर थ्री स्टारले बराबरी खेलेको हो । खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा प्रशान्तले गोल गरेका थिए । बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ । ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड यस सिजन रेलिगेसनमा परिसकेको छ ।

सम्बन्धित खबर