बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पत्रकार उपचार कोषलाई १११११ बेहुलिको सहयोग

शुक्रवार, फागुन ६, २०७८

२०७८ फागुन ६/सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्नु भएको छ। बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता बेदमायाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गर्नुभएको हो । आफ्नो बिवाहको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको कृपाले बताउनु भयो। झापाको कनकाई ८ लक्ष्मीपुर घर भई तेह्रथुमको आठराई ६ चुहानडाँडाका हरि पराजुलीसंग विवाह गरेकी गुरागाईंलाई महासंघको टोलीले बधाई शुभकामना ज्ञापन गरेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्य रञ्जित परियार, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाल, पत्रकार नवीना कुईंकेल लगायतको सहभागिता थियो । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । कोषमा हाल ५५ लाख रुपैयाँ बढी जम्मा भइसकेको छ ।  आफूले झैं अरुले पनि विवाह, जन्मोत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार गुरागाईंले बताउनु भयो । महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

सम्बन्धित खबर