शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

दोश्रो पटक देशकै उत्कृष्ठ विर्तामोड खाने पानीले उपभोक्तालाई दियो जस

बिहिवार, फागुन ५, २०७८

२०७८ फागुन ५/ नगर विकास कोषले उत्कृष्ट खानेपानी छनौट गरी सम्मान तथा पुरस्कृत गरेको झापा बिर्तामोडको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताका कारण उत्कृष्ठ भएको जनाएको छ । सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मूल्याङ्कनका आधारमा देशकै उत्कृष्ट खानेपानीको रुपमा दोस्रो पटक सम्मानीत खानेपानी उत्कृष्ठ वन्नकालागि उपभोक्ताको ठुलो हात रहेको कुरा सार्वजनिक गरेको छ । कोषको ३४ औं बार्षिकोत्सवको अवसर पारेर गत फागुन २ गते दोस्रो पटक देशकै उत्कृष्ट खानेपानी छनौट गरी सम्मान गरेको बिहीवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउने उध्येश्यले एक कार्यक्रमको आयोजना गरिएको थियो । संस्थालाई शहरी बिकासमन्त्री तथा कार्यक्रमकी प्रमुख अतिथि रामकुमारी झाकीले सम्मानसहित प्रमाणपत्र प्रदान गरेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो । देशभर रहेका एकसय ५ वटा साना शहरी खानेपानी मध्ये सञ्चालनमा रहेका एकसय संस्थाहरु मध्येबाट ९९ लाई पछि पार्दै संस्थाले दोस्रो पटक सम्मानीत भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । संस्था सम्मानीत हुनुमा कार्य समिति, कर्मचारी र उपभोक्ताहरुको साथ र सहयोगसमेत रहेको समाजसेवी गुरुङले जानकारी दिनु भयो । उहाँले संस्थाको स्थापना कालदेखि नै सिमित स्रोत साधन र बजेटको परिधि भित्र रहेर उपभोक्ताको माग बमोजिम स्वच्छ, स्वास्थ्य पिउने पानी उपलब्ध गराउँदै आएको जानकारी दिदै संस्थाको २०८१ साल सम्ममा चुक्ता गरिसक्नु पर्ने रु १ करोड ऋण रहेको वताउनु भयो । त्यस्तै बिर्तामोडमा शहरीकरण तिब्र रुपमा वढ्दै गइरहेको उपभोक्ताको वढ्दो पानीको मागलाई ध्यानमा राखेर संस्थाले निरन्तर रुपमा आफ्ना गतिविधिहरुलाई सकेसम्म उपभोक्ताको हितमा काम गरिरहेको अध्यक्ष गुरुङले बताउनु भएको छ । विर्तामोड भित्रको ब्यस्त शहरलाई केन्द्रित गरी आगामी ३ महिना भित्र ठाउँ–ठाउँमा आधुनिक फायर व्रिगहेड स्थापना गर्ने लक्ष रहेको संस्थाका सचिव मेघराज वाँस्तोलाले जानकारी दिनु भयो । संस्थालाई यसअघि नगर विकास कोषको ३० औं बार्षिकोत्सवको अवसर पारेर पहिलो पटक सम्मान गरिएको थियो । पहिलो पटक कोषले संस्थाको निर्माण तथा पुनः निर्माण सञ्चालनका लागि साझेदारी लागत सहभागीतामा उपलब्ध गराएका आयोजना चुस्त÷दुरुस्त पारदर्शी ढंगले समयमै सम्पन्न गरेर उपभोक्ता र संस्थाको हितमा कार्य गरेको भन्दै सम्मान गरेको थियो । संस्थाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाल, कार्य समिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिब मेघराज वास्तोलाले गर्नु भएको थियो । संस्थामा करिव ८ हजार उपभोक्ता रहेको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले बताउनु भयो ।

सम्बन्धित खबर