बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबलाई

बुधवार, फागुन ४, २०७८

२०७८ फागुन ४/ मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरेका हुन् । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाएपनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गरे ।उक्त गोल नोर्लान र मछिन्द्रका खेलाडीले चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई समर्पण गरे । मनिषले च्यासलबिरुद्धको खेलमा चोट बोकेका थिए । मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो । यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । त्यस्तै ’ए’ डिभिजन लिग अन्तर्गत बुधबार नै त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्समा सुरुआती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो । खेलको २६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ । हिमालयनले ११ खेलमा १३ अंक जोडेको छ ।

सम्बन्धित खबर