बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मच्छिन्द्रले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लवलाई दुई शुन्यले जित्यो

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९/ सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको होडमा रहेको मच्छिन्द्रले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लवलाई दुई शुन्यले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा विमल घर्तिमगर र सुनील बलले गोल गरे । खेलको सुरुवातबाट नै आक्रामक खेल खेलेको लिगको उपाधि होडमा रहेको मच्छिन्द्रले १७ औं मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि बिमल घर्तिमगरले उत्कृष्ट फिनिस गरे । त्यसपछि ३५ औं मिनेटमा मच्छिन्द्रले खेलमा दुई शुन्यको अग्रता बनायो । उसका लागि सुनील बलले उत्कृष्ट गोल गरे । उनले बिमल घर्तिमगरको पासमा डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्न सफल भए । यो हारले च्यासल भने रेलिगेसनको दबाव झन बढेको छ । यो जितपछि मच्छिन्द्रको १० खेलमा २६ अंक भएको छ । च्यासलको भने ५ अंक छ । यस्तै शनिबार नै सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे । आकाशले खेलको १९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फउल गर्दै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाश चुकेनन् । यससँगै नवप्रवेशी क्लब सातदोबाटोले पुलिसमाथि पहिलो भेटमै जित निकाल्न सफल भएको छ । यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ ।

सम्बन्धित खबर