बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एनएनआईपीए स्पोर्टस अवार्ड फागुन १७ गते आयोजना हुने

बिहिवार, माघ २७, २०७८

२०७८ माघ २७/ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १६ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन १७ गते आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अवार्ड ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको बज्र बाराही मन्दिर परिसरमा आयोजना हुने जानकारी गराएको हो । अवार्ड २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी, एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् । एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ । पत्रकारीता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन् । एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ । सो सम्मान प्राप्त गर्नेले १० हजार प्राप्त गर्ने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाले अवार्ड विभिन्न सहरका विभिन्न ठाउँमा आयोजना गर्ने तयारीका साथ यो बर्ष गोदावरी नगरपालिकामा गर्न लागिएको बताउनुभयो । पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकामा अवार्ड आयोजना हुँदा खेलाडीमा उर्जा आउने बताउनुभयो ।

सम्बन्धित खबर