बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने

बिहिवार, माघ २७, २०७८

२०७८ माघ २७/ राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा पदाधिकारी बैठकले वैशाख ३० गते हुने निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने र पार्टीको संगठन सुदृढ र क्रियाशील गर्ने निर्णय गरेको हो । निर्वाचनलाई मध्यनजर गर्दै घर दैलो , आमसभा लगाएका कार्यक्रम गर्ने र कार्यक्रममा शिर्ष नेताहरुलाई नै सहभागी गराउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजना बारे छलफल भएको थियो । यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय भएको उहाले जानकारी दिनुभयो । त्यस्तै उहाले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि पुनः स्पष्ट पारिएको बताउनुभयो । प्रवक्ता श्रेष्ठले पार्टी परित्याग गर्ने कमल थापाको निर्णय अनपेक्षित रहेको उल्लेख गर्नुभयो ।

यसैबीच राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको भन्दै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गर्नुभएको छ । उहाले कमल थापाको निर्णय अपर्झट आएको र दुख लाग्दो भएको पनि बताउयनुभयो । राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बोलाएको छ ।

सम्बन्धित खबर