बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकोसले नेपाली महिला भलिबल टिमलाई नगद सहित सम्मान गर्ने

सोमवार, माघ २४, २०७८

२०७८ माघ २४/ नेपाल खेलकुद महासंघ (नेकोस) ले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुने नेपाली महिला भलिबल टिमलाई नगद सहित सम्मान गर्ने भएको छ । नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप महिला भलिबल टिमलाई फागुन ७ नगद सहित सम्मान गर्ने जनाएको हो । नेकोसले वर्षभरी गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगद सहित सम्मान गर्ने समेत जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव विवादलाई पनि चाडै समाधान गर्न माग समेत नेकोसले गरेको छ । नवौं राष्ट्रिय खेलकुदको मिति तोक्न समेत माग गरेको छ । बैठकले महासंघको संयोजकमा पर्शुराम बस्नेतलाई चयन गरेको छ । पत्रकार सम्मेलनमा संयोजक बस्नेतले खेल क्षेत्रलाई सरकारले कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो । कुनै पनि बहानामा राज्यले खेलकुद क्षेत्रको गतिबिधिलाई शुन्य बनाउन नहुने उहाको भनाई छ । उहाले खेल क्षेत्रको बिकासका लागि महासंघ सदैव अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभयो । यसअघिका संयोजक रमेश पौडेल एमाले केन्द्रीय सदस्य मनोनित भएपछि अध्यक्षको जिम्मेवारीबाट बिदा लिएर बस्नेतलाई बाटो खुला गर्नुभएको थियो । बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । केन्द्रीय कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने महासंघले जनाएको छ ।

सम्बन्धित खबर