बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोली नगदसहित पुरस्कृत

शुक्रवार, माघ २१, २०७८

२०७८ माघ २१/ सरकारले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालेसेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५÷५ लाख प्रदान गर्नुभयो । त्यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ । त्यस्तै उहाले नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको खेल जगतले अन्तराष्ट्रिय स्तरमा देखाएको प्रदर्शनको प्रसंसा गर्नुभयो । उहाले मुलुकमा खेलकुद पूर्वाधार निर्माणका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाले नेपालको फुटबल क्षेत्रमा पनि निकै सुधार भएको भन्दै अब्दुल्लाह अलमुताइरीलाई धन्यवाद दिदै आगामी दिनमा फुटबलमा थप सफलता प्राप्त गर्ने बताउनुभयो ।त्यस्तै खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मानका साथै खेलाडीमाथि राज्यले थप जिम्मेवारी थप गरेको बताउनुभयो । उहाले खेलाडीहरुलाई भएको समस्यामा बारेमा सरकार गम्भीर रहेको भन्दै भलिवल खेल्नका लागि पूर्वाधार निर्माण गर्न आगामी बजेटले आवश्यक सम्बोधन गर्ने जानकारी दिनुभयो ।कार्यक्रममा राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले भलिवल प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । गत पुसमा ढाका उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रहेको थियो । त्यस्तै अलमुताइरीको नेतृत्वमा घरेलु फुटबल टोली नेपालले हालै सम्पन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेल जितेको थियो ।

सम्बन्धित खबर