बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कांग्रेसले पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने

आइतवार, माघ १६, २०७८

२०७८ माघ १६/ नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताउनुभएको छ । रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन् कि भन्ने आशंका नपाल्न पनि आग्रह गर्नुभयो । नेता खड्काले पार्टीका नेताहरुको बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ–आफ्नो मत रहेको उल्लेख गर्नुभयो । निर्वाचन गर्नेबारे सहमति भएपछि अब ऐन तथा कानून संशोधन गर्ने कुरा अहिले गर्न नहुने उहाको भनाई छ । नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गर्नुभयो । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने स्पष्ट पार्नुभयो ।सरकारले संविधाअनुसार निर्वाचन गर्ने उहाको भनाई छ । साक्षात्कारमा एमालेका नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको बताउनुभयो । निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै उहाले बैशाखमै निर्वाचन गराउन सकिने बताउनुभयो । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सत्तापक्षले जेठभित्रै निर्वाचन गर्ने भनेर घोषणा गरेको भएपनि अहिल्यै नै यसलाई पत्याउने वा विश्वास गर्ने आधार भने बनिनसकेको बताउनुभयो । उहाले जनदबाब बढेपछि सत्तापक्षले बाध्य भएर निर्वाचन गर्ने घोषणा गरेको पनि टिप्पणी गर्नुभयो ।

सम्बन्धित खबर