बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश १ मा कुष्ठरोग सेवा केन्द्र र अस्पताल नहुँदा विरामीलाई सास्ति

आइतवार, माघ १६, २०७८

२०७८ माघ १६ / प्रदेश १ मा कुष्ठरोग सेवा केन्द्र र अस्पताल नहुँदा यहाँका कुष्ठरोगीलाई उपचार गराउन अन्य जिल्ला पठाउनु पर्ने बाध्यता छ । प्रदेश १ का १४ जिल्लामध्ये झापा र मोरङमा सबैभन्दा बढी कुष्ठरोग लागेका बिरामी रहेका छन् । कुष्ठरोगको उच्च जोखिममा रहेका दुवै जिल्ला ‘रेड जोन’मा परेका छन् । गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश १ मा ३८५ नयाँ बिरामी देखिएका छन् । प्रति १० हजार जनसङ्ख्याको आधारमा नेपालकै तेस्रो जिल्लाको रुपमा झापामा १ दशमलव ४२ प्रतिशत र ९ औं जिल्लाको रुपमा मोरङमा १ दशमलव २१ प्रतिशत कुष्ठरोगी भेटिएको छ । प्रदेश १ का दुई जिल्ला कुष्ठरोगको उच्च जोखिम रहे पनि प्रदेशमै कुष्ठरोग सेवा केन्द्र र अस्पताल नभएको कुष्ठरोग मिसन अस्ट्रेलियाका झापा जिल्ला कार्यक्रम संयोजक पशुराम पोखरेलले जानकारी दिनुभयो । गत आर्थिक वर्ष ०७७÷०७८ मा झापामा ९८ कुष्ठरोग लागेका बिरामी मध्ये २१ जनालाई उपचारका लागि धनुषास्थित लालगढ कुष्ठरोग सेवा केन्द्र र ललितपुर लेलेस्थित कुष्ठरोग मिसन नेपाल आनन्दवन अस्पताल पठाइएको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो । “शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता” भन्ने नाराका साथ स्वास्थ्य कार्यालय झापाले आइतबार ६९ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले आर्थिक वर्ष ०७७÷७८ मा देशभर २ हजार १९७ बिरामी उपचार रहेको बताउनुभयो । झापामा आर्थिक बर्ष ०७७÷०७८ मा ९८ र चालु आर्थिक वर्षको पुससम्म ३६ जना स्वास्थ्यकर्मीको सम्पर्कमा आएका बिरामी भेटिएको हो । छुवाछुत र समाजका कारण कुष्ठरोग लागेका व्यक्ति उपचारमा आउन नचाहेको उहाँको भनाई छ । यस रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हात गोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ । समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ग हुने र ज्यान समेत जान सक्ने उनले बताउनुभयो ।

सम्बन्धित खबर