बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल बिद्यार्थी संघ द्वारा किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायमा तालाबन्दी

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३/ बिद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल बिद्यार्थी संघले किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत बिद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालावन्दी गरेका हुन् ।

उनीहरुले आर्थिक अभावका कारण बिद्यार्थीहरुमा गरिएको बिभेद अन्त्य गर्न र महङ्गो कोर्स पढ्न नसक्ने बिद्यार्थीका लागि छात्रबृति प्रदान गर्ने बिषयमा संघ र त्रिबिबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सवै क्याम्पसको शुल्कमा एकरुपता ल्याउन माग गरेका छन् । त्यस्तै केहि क्याम्पसले छात्रबृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्वन्धन खारेज गरि आवश्यक कारवाही गर्न माग गरिएको नेविसंघ नेता दिपक ओझाले जानकारी दिनुभयो । सो क्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बिद्यार्थीहरुको मागका बारेमा आफु सकारात्मक भएको भन्दै सर्वपक्षिय छलफलबाट समस्या समाधान गर्ने बताउनुभयो ।

बिद्यार्थीहरुले व्यवस्थापन संकायको भर्ना सम्बन्धी कार्यबिधी पालना नगरि सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई पनि कारवाही गर्न माग गरेका छन् । आफुहरुको मागका बिषयमा २४ घण्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

सम्बन्धित खबर