बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२/ सरकारले बिराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बिराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने करिव २ अर्व ६१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै बैठकले बिद्युत प्राधिकरण अन्तर्गतका बिभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ती गर्न स्वीकृति दिने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ । त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कृषि तथा वन बिज्ञान विश्व बिद्यालयलाई सरकारी जग्गा लिजमा उपलव्ध गराउन स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै मन्त्रीपरिषद्ले कञ्चनपुर र कैलालीमाा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाटा नपा र कैलालीको गोदावरी नपाको वन क्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको उहाले बताउनुभयो । बैठकले स्वास्थ्य वीमा बोर्डको अस्थायी दरवन्दी स्वीकृति गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताउनुभयो । कानुनविदहरुले संविधानसँग बाझिएका कानून संशोधन गरेर संविधान अनुकुल बनाउन सुझाव आएको र सरकार परामर्शमा रहेको उहाको भनाई छ । उहाले प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी नरहेको बताउनुभयो । प्रवक्ता कार्कीले संसदको गतिरोध हटाउन पर्याप्त पहल भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको बताउनुभयो । उहाले सदनलाई सुचारु गर्ने दायित्व सवैको भएको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर