बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्रिय सभाको मतदानको सम्पूर्ण तयारी पुरा

मङ्गलवार, माघ ११, २०७८

२०७८ माघ ११ निर्वाचन आयोगले बुधबार हुने राष्ट्रिय सभाको मतदानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बुधबार हुने मतदानका लागि आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा रहेका छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ । सात प्रदेशका आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत् मतदान गराइनेछ । जसअनुसार प्रदेश १ मा दुई र अरु प्रदेशमा एक÷एक वटा मतदान स्थल छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदानको सम्पूर्ण तयारी पुरा भएको र बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुने जानकारी दिनुभयो । उहाले निर्वाचन सकिएपछि आवश्यक प्रक्रिया सकेर मतगणना सुरु हुने बताउनुभयो । फागुन २० बाट नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार मतदान हुन लागेको हो । मतदानमार्फत् ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य समूह गरी १९ जना चुनिने छन् ।

सम्बन्धित खबर