२०७८ माघ १०/ प्रदेश १ सरकारको स्वामित्वमा रहेको जिल्लाकै एक मात्र ठुलो मेची अञ्चल अस्पताल भद्रपुर लामो समयदेखि एम्बुलेन्स विहीन छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको अवस्थामा जिल्लाकै ठुलो सरकारी मेची अस्पतालको स्वामित्व एउटा पनि एम्बुलेन्स छैन । करिब ९ महिनाअघि एम्बुलेन्स बिग्रिएर अस्पताल परिसरमा थन्काइएको छ । भारतीय राजदूतावासले सन् २००८ मा मेची अस्पताललाई मे १ झ ९१ नम्बरको (ग) वर्गको एउटा एम्बुलेन्स दिएको थियो । त्यस भन्दा अघि संयुक्त राष्ट्र शरणार्थी निकाय (यूएनएचसीआ)ले मेचीलाई मे १ झ ६८ नम्बरको एम्बुलेन्स दिएको थियो । यूएनएचसीआरले दिएको एम्बुलेन्स काम नलाग्ने भएपछि भारतीय राजदूतावासले नयाँ एम्बुलेन्स दिएको अस्पताल प्रशासनले जनाएको छ । अहिले बिग्रिएका दुवै एम्बुलेन्स एकै ठाउँमा राखिएको छ । दुवै एम्बुलेन्स काम नलाग्ने भएपछि थन्काइएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो । यता मेची अस्पतालमा एम्बुलेन्स नहुँदा समस्या भइरहेको अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार ५० शय्या भन्दामाथि वा प्रादेशिक अस्पतालले कम्तीमा (क) वर्गको एउटा र (ख) वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । तर, मेचीमा (क) र (ख) वर्गको त परै जाओस्, अहिले (ग) वर्गको पनि एम्बुलेन्स नहुँदा असहाय, गरिब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरू निःशुल्क सेवा पाउनबाट वञ्चित हुनु परेको छ । निर्देशिकाले सहाय, गरिब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरूलाई एम्बुलेन्सले निःशुल्क सेवा दिनुपर्ने उल्लेख गरेको छ । एम्बुलेन्स नहुँदा अस्पतालमा कार्यरत एम्बुलेन्स चालक जयविन्द्र सिंह र डिल्ली खरेललाई प्रशासन पक्षले अन्य कामकाजमा खटाएका छन् । प्रदेश १ सरकारले हालसम्म प्रादेशिक अस्पताल नामकरण गर्न नसकेको मेची अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीहरू निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य बनेका छन् ।