बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मेची अस्पतालमा थप अक्सिजन प्लान्ट सञ्चालनमा

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९/ कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै मेची अस्पतालमा भद्रपुरमा थप अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौंले मेची अस्पतालमा जडान गरेको ११० सिलिन्डर उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्टको आइतबार एक कार्यक्रमका बिच हस्तान्तरणपछि उद्घाटन गरिएको छ । चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.लोचन कार्की, महासचिव डा. बद्री रिजाल लगायतको उपस्थितीमा काँग्रेस नेता सिटौलाले सो अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । चिकित्सक संघको पहलमा चुजी फाउन्डेशन ताइवानले मेचीलाई अक्सिजन प्लान्ट सहयोग गरेको संघका केन्द्रीय अध्यक्ष डा. कार्कीले जानकारी दिए । चुजी फाउन्डेशन ताइवानले मेचीसहित भोजपुर, पर्वत र कोशी अस्पताललाई पनि अक्सिजन प्लान्ट दिएको उनले बताए । मेचीमा जडित अक्सिजन प्लान्टबाट एकै साथ धेरै सिलिन्डर उत्पादनका लागि बुस्टर जडान आवश्यक रहेको छ । बुस्टर जडानका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नु पर्ने काँग्रेस नेता सिटौलाले बताए । त्यसका लागि आफुले पनि पहल गर्ने उनको भनाई छ । मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्कोटीले अक्सिजन प्लान्टको बारेमा जानकारी दिए । यसअघि मेचीमा प्रदेश १ सरकारले एक करोड लागतमा ३५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । तत्कालिन प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले सो प्लान्टको उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर