बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

जनताको शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकारको रक्षा गर्न आवश्यक प्रधानमन्त्री शेरबहादुर देउवा

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९/ प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकारको रक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको सुरक्षा र अधिकारको प्रत्याभूत गर्ने सरकारको दायित्व भएको भन्दै जनताप्रति प्रतिवद्ध भएर अघि बढ्ने बताउनुभएको हो । उहाले हरेक अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्र सेवकको वृद्धि विकासमा सरकारले सहयोग गर्ने र यसका लागि आवश्यक गृह कार्य गरिरहेको धारणा पनि राख्नुभयो । उहाले राष्ट्रिय सुरक्षाका रुपमा रहेको सीमा सुरक्षामा खटिएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिनुभयो । त्यस्तै उहाले आउने स्थानीय तहको चुनावलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले कोरोना महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै अर्थतन्त्रमा असर पर्न नदिन अहिले स्मार्ट लकडाउन गरिएको बताउनुभयो । भीड नियन्त्रण गरेर संक्रमितको पहिचान गर्न सरकार गम्भीर रहेको र सशस्त्र प्रहरी बलले पनि कोरोना रोकथाममा भूमिका खेलेको उहाले बताउनुभयो । त्यस्तै सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले राज्यको दायित्वलाई संगठनले सदैव प्राथमिकताका साथ निर्वाह गरेको जानकारी दिनुभयो । मुलुकको सीमा सुरक्षाका लागि उत्तरदेखि दक्षिणसम्म नै सक्रिय रुपमा अहोरात्र खटिएको उहाले बताउनुभयो ।उहाले नेपालको सीमा क्षेत्रलाई व्यवस्थीत गर्नका लागि प्रतिवद्ध भएर लागेको बताउनुभयो ।

सम्बन्धित खबर