बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबलाई

बुधवार, माघ ५, २०७८

माघ ५ /नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । प्रतियोगितामा नेपाल एपीएफ क्लबका मोहमद आशिफ शेख सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ३० हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पुलिस क्लबका कुशल भुर्तेल चुनिए । यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले २०÷२० हजार प्राप्त गरे । विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे । यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको पीएम कप यस पटक भने टी–ट्वान्टी फर्म्याटमा भएको हो । ओमानमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टी–ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न गरेको हो । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर