बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

‘राजनीति भनेको जनताको सेवा हो, पेशा वा व्यपार होइन’ राप्रपा अध्यक्ष लिङ्देन

बुधवार, माघ ५, २०७८

झापा, माघ ५/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनु पर्ने भन्दै यसलाई पेशा वा व्यपार बनाउँन नहुने बताउनुभएको छ ।
झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाउनुभयो । मुख्य राजनीतिक दल भनिएका एमाले, कांग्रेस र माओवादीका नेताले विगत ३१ वर्षदेखि देशलाई बन्धक बनाएको आरोप लगाउँदै अध्यक्ष लिङदेनले एकै सिक्काका दुई पाटाका रुपमा रहेका यी तीन वटै पार्टी वैचारीक रुपमा एकै ठाउँमा रहेको दावी गर्नुभयो । नेताहरुले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अध्यक्ष लिङ्देनले पहिले पार्टीका नेता आँफै सुध्रिनु पर्ने तर्फ जोड दिनुभयो । नेपालको राजनीतिमा सेन्डिकेट खडा भएको बताउँदै अध्यक्ष लिङ्देनले मुख्य राजनीतिक दलका नेताहरुबाट भएको सेन्डिकेट अन्त्य हुनु पर्नेमा जोड दिनुभयो । सेन्डिकेट रहेसम्म देशमा भ्रष्टचार मौलाउँने भएकाले यसको अन्त्यकालागि जनताले राप्रपालाई खोज्न थालेको भन्दै नेता लिङ्देनले अब राप्रपा देशको पहिलो पार्टी बन्ने दौडमा रहेको बताउनुभयो । राप्रपामा नवप्रवेशीहरु राप्रपा भनेर मात्र आएका नभएर देश र धर्म जोगाउने अभियानमा समेत जोडिएको नेता लिङ्देनले बताउनुभएको छ । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले युवाहरू परिवर्तनका सम्बाहक भएको बताउनुभयो । अध्यक्ष लिङ्देनको अभियानलाई साथ दिँदै नेपाल भरीका युवाहरूको आकर्षण राप्रपामा बढ्न थालेको ओझाले जोड दिनुभयो । राप्रपा कनकाईका अध्यक्ष ज्योतीकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य तारामाया राई, क्षेत्र नंं.४ का अध्यक्ष नारायणप्रसाद पोखरेल, नवप्रवेशीहरु केशवकुमार कार्की, रुद्रदिप सुन्दास, सचित्रा खनाल लगायतका युवाहरूले धारणा राख्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकसय बढी स्थानीयवासी राप्रपामा प्रवेश गरेका छन् । राप्रपा कनकाई नगर समितिका उपाध्यक्ष इन्द्र रोक्काले स्वागत गरेको कार्यक्रमको संचालन नगर सचिव भुपेन्द्र दहालले गर्नुभएको थियो ।

सम्बन्धित खबर