बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सकार तत्काल लकडाउन गर्ने पक्षमा छैन

मङ्गलवार, माघ ४, २०७८

माघ ४ /स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्काल लकडाउन नै गर्ने पक्षमा नभएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय लकडाउनको विरुद्धमा रहेको बताउनुभयो । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उहाँले बताउनुभयो । १८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको सचिव पोखरेलको भनाइ छ । केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको उहाँले जानकारी दिनुभयो ।

अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्ने उहाले बताउनुभयो । बैठकमा सांसदहरुले सरकारले छिटोभन्दा छिटो सबैलाई खोप लगाउनुपर्नेमा जोड दिएका थिए । सांसद योगेश भट्टराईले दैनिक पाँच लाख खोप लगाउने भने पनि दैनिक डेढ लाखभन्दा बढीलाई खोप दिन नसिकएको बताउनुभयो । सांसद चित्रलेखा यादवले ग्रामीण क्षेत्रका नागरिकमा अझै पनि कोभिडबारे जानकारी नभएकाले स्वास्थ्यका सामान्य मापदण्डसमेत पालना नगरेको बताउनुभयो । बैठकले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर