बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सडक निर्माण र विस्तार रोक्न भारतसंग नेपाल सरकारको आग्रह

आइतवार, माघ २, २०७८

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतसंग आग्रह गर्दै आएको जनाएको छ ।
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको बताउनुभयो । उहाले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । दुईदेशबीचको सीमा समस्याको समधान ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको उहाले बताउनुभयो । त्यस्तै प्रवक्ता कार्कीले भीडभाड हुने क्षेत्रमा कोभिड प्रोटोकल जारी गरेको जानकारी दिनुभयो । जसअनुसार माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु बन्द गर्ने निर्णय भएको छ । बिवाह, ब्रतवन्ध लगायतका धार्मिक कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति समेत लिनुपर्ने भएको छ । कुनै पनि प्रतियोगितामा कूल क्षमताको एक तिहाई मात्र दर्शकले प्रतियोगिता हेर्न पाउने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । मन्त्रीपरिषद्ले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोत बाँडफाड गर्ने निर्णयसमेत गरेको उहाले बताउनुभयो । विभिन्न विद्युत आयोजनाको क्षतिपूर्ति निर्धाणका निम्ति समिति गठन गर्ने निर्णयसमेत सरकारले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर