बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबको सानदार जित

आइतवार, माघ २, २०७८

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको ५६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा मछिन्द्रका अविशेक रिजालले गोल गरेका थिए। तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । त्यसपछि खेलको इन्जुरी समयमा अविशेकले गोल गर्दै मछिन्द्रलाई ४–० गोलको जित दिलाए । यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । शिर्ष स्थानको मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ । ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । यस्तै आइतबार हुने भनिएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको हुने खेल स्थगित भएको छ । च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ । स्थगित खेलको मिति पछि तय गरिने एन्फाले जनाएको छ ।

सम्बन्धित खबर