बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी आन्दोलन स्थगित हुँने

आइतवार, माघ २, २०७८

विराटनगर, १ माघ । नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउँन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउँन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने सहमति भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउँन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएका छन् । सहमतिपत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट प्रचार्य प्रा.डा. रामहरी घिमिरे, सल्लाहकार डा.केपी शर्मा र प्रवन्धक नारायण प्रसाद दाहालले हस्ताक्षर गर्नु भएको छ । यता, आन्दोलनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उनीहरुका अभिभावक बीरेन्द्र भगत, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाल र रामकुमार भट्टराईले हस्ताक्षर गर्नु भएको छ । सहमति जुटेकाले अब विद्यार्थी आन्दोलन स्थगित हुँने अभिभावकहरुले जनाएका छन् । नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले पनि अभिभावकहरुसँग सहमति जुटेकाले विद्यार्थी आन्दोलन स्थगित भएर अब पठनपाठन सूचारु हुँने प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित खबर