बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

स्वर्ण महोत्सवको हिसाब सार्वजनिक

शनिवार, माघ १, २०७८

कनकाई, १ माघ ÷ झापाको बिर्तामोड–२ स्थित श्रीकृष्ण प्रणामी मन्दिर चारपानेले दुई बर्षअघि आयोजना गरेको स्वर्ण महोत्सवको आय व्यय विवरण सार्वजनिक गरेको छ ।

स्वर्ण महोत्सव मुल आयोजक समितिले शनिबार (आज) मन्दिर परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको आय व्यय विवरण सार्वजनिक गरेको हो ।

मन्दिरका संरक्षक एवम् श्री राधाकृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका गादिपति जगतानन्द शास्त्री महाराजको अध्यक्षतामा भएको कार्यक्रममा दुई वर्ष अघिको महोत्सवका बारेमा समिक्षा समेत गरिएको थियो ।

प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको श्रीकृष्ण प्रणामी मन्दिर चारपानेमा भएको महोत्सवले संस्थाको भौतिक संरचना निर्माणमा समेत ठूलो सहयोग पुगेको बताइएको छ । स्वर्ण महोत्सव समापन भएसँगै कोरोना संक्रमण लगायत विभिन्न कारणले आय व्यय सार्वजनिक गर्न ढिला भएको बताइएको छ ।

स्वर्ण महोत्सवमा आम्दानीतर्फ एक करोड ४७ लाख ६ हजार ८ सय ४८ रुपैयाँ भएको बताइएको छ ।

त्यस्तै खर्च तर्फ एक करोड ५० लाख ६ हजार ६ सय ५१ रुपैया भएको हिसाब सार्वजनिक गरिएको छ । महोत्सवबाट उठन बाँकी चार लाख ६ हजार ३ सय १५ रुपैयाँ रहेको जानकारी गराइएको छ ।

आयोजक समितिका महासचिव सारदाप्रसाद थपलियाले दिएको जानकारी अनुसार १२ लाख ७० हजार ५ सय ६० रुपैयाँ अझै तिर्न बाँकी रहेको छ । त्यस्तै ४ लाख ६ हजार ३ सय १५ रुपैंयाँ उठ्न बाँकी रहेको महासचिव थपलियाले जानकारी दिनुभएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य चन्द्र डाँगीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले स्वागत गर्नुभएको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुंगाना, श्रीकृष्ण प्रणामी सत्संङ सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खबर