बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दरबार उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला

बिहिवार, पौष २९, २०७८

२९ पौष, विराटनगर, विराटनगरको भेडियारीमा जारी विराट राजा दरबार उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ । उत्खननको क्रममा निस्किएको मन्दिरको अवशेष इशापूर्व दोश्रो सताब्दीको हुनसक्ने आकलन गरिएको छ । विराटनगर महानगरपालिकाको सिमान्त वडा भेडियारीमा रहेको पुरातात्विक महत्वको विराट राजा दरबार क्षेत्रको उत्खनन जारी छ । महाभारतकालिन युगसंग जोडेर हेर्ने गरिएको यसठाउँमा पुष २७ गतेबाट उत्खनन शुरु भएको हो । पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा आएको टोलीले दरबार क्षेत्रको पुरातात्विक महत्व पत्ता लगाउन उत्खनन गरिरहेको छ । यसअघि विक्रमसम्बत २०२४ सालमा डाक्टर तारानन्द मिश्रको टोलीले यसठाउँमा उत्खनन गरेको थियो । तत्कालिन समयमा उत्खननको क्रममा फेला परेको भग्नावशेषलाई फेरी पुरिएको थियो । त्यसयता माटोको थुप्रोकोरुपमा रहेको ढिस्कोलाई फेरी उत्खनन गर्न थालिएको हो । उत्खननको क्रममा इट्टाले बनाइएको संरचनाको जग निस्किएको छ । ५० बर्ष अघि उत्खननगर्दा नै मिश्र नेतृत्वको टोलीले ईशापुर्व दोश्रो शताब्दीको संरचना त्यहाँ रहेको रिपोर्टिङ गरेको थियो ।
पुरातत्वविज्ञहरुको टोलीले यसअघि माटोको थुप्रोकोरुपमा देखिएको ढिस्को मध्यभागलाई केन्द्रबिन्दु मानि विभिन्न ४ खण्डमा रेखांकन गरेर उत्खनन गरिरहेको छ । उत्खननमा संलग्न टोलीले संरक्षित क्षेत्रमा भएको जमिन मुनिको ढाँचाको आकार र त्यसको फैलावट पत्ता लगाउने छ भने कार्बन डेटिङ गरेर संरचना निर्माणको समय समेत पत्ता लगाउने छ । यस्तै टोलीले यसक्षेत्रको सांस्कृतिक ईतिहास समेत अध्ययनगर्ने जनाइएको छ । ढाँचाको उत्खननगर्न यतिखेर १७ जना मजदुर खटाइएका छन । विविध कार्यादेश सहित सरकारले १० लाख रुपैयाको झिनो बजेट छुट्टयाएको छ । टोलीले ३ सातासम्म यो क्षेत्रमा उत्खनन तथा अन्वेशषण जारी राख्ने जनाइएको छ । उत्खननको क्रममा फेला परेको मन्दिरको भग्नावशेष महाभारतमा उल्लेख गरिएका तत्कालिन राजा विराटको दरबार परिसरमा रहेको मन्दिरको हुनसक्ने संरक्षक कमल किशोर यादवको भनाई छ ।
साबिकको बुधनगर गाउँपालिका र हालको विराटनगर १८ को उक्तक्षेत्रमा यसअघिदेखीनै पुरातात्विक महत्वका समाग्रिहरु फेला पर्ने गरेको यादवले बताउनुभयो । फेलापरेका कतिपय सामान राष्ट्रिय संग्रहालयमा र केहि सामाग्रि आफुसंग सुरक्षित रहेको उहाँले बताउनुभयो । आउदो तीन साता भित्रको समयमा यहाँ रहेको भग्नावशेषको पुर्ण आकारप्रकारको स्पष्ट खाका आउने अपेक्षा गरिएको छ । यसअघि २०७७ साल चैत ११ गते लंदनको दुराम युनिभर्सिटीका आर्कियोलोजिष्टहरुले यसक्षेत्रको भूभौतिक सर्वे गरेका थिए । सो सर्वेबाट जमिन मुनिको संरचनाको खाका पत्ता लाग्ने र ३ महिनाभित्र रिपोर्ट सार्वजनिक हुने भनिएको थियो यद्यपि त्यो अझसम्मपनि हुनसकेको छैन ।

सम्बन्धित खबर