बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आजदेखि २०२२ , प्रारम्भ / राष्ट्रिय टोपी एवम् पोशाक दिवस मनाइँदै।

शनिवार, पौष १७, २०७८

अंग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि शुरु भएको छ । नेपाल सहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाईरहेका छन् । इसाई धर्मका प्रवर्त्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीहरुले सो संवत् प्रचलनमा ल्याएका हुन् । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन रहेको छ । विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास रहेको छ । नेपालमा इसाई तथा गैर-इसाईहरुले पनि विभिन्न परिकारका मीठा मीठा खाना खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने गरेकाछन् । इस्वी संवतको यो नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । राष्ट्रिय टोपी एवम् पोशाक दिवस मनाइँदै। राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरिएको थियो । नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित टोपी एवम् राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको हो।

सम्बन्धित खबर