बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

माटोमा अम्लीयपन बढ्दै, उत्पादनमा नकारत्मक प्रभाब पर्ने माटो बिज्ञको चेतावनी,

बिहिवार, पौष १५, २०७८

सुदिप अधिकारी, झापा — झापा सहित प्रदेश १ का १४ वटै जिल्लाको माटोमा पछिल्लो समय अम्लपनको मात्रा बढ्दै गएको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाका प्रमुख तथा माटो बिज्ञ हरिबहादुर भुजेल झापाको माटोमा अम्लीयपनको मात्रा बर्षेनी बढ्दै गएको बताउछन् । प्रयोगशालाको रिपोर्टले झापाको माटोमा प्रांगारिक पदार्थको मात्रा पनि अत्यधिक घट्दै गएको देखाएको माटो बिज्ञ भुजेलको भनाइ छ । प्रत्येक वर्ष माटोमा बढ्दै गएको अम्लीयपनले उर्वराशक्ति घट्दै गएको माटो तथा मल परीक्षण प्रयोगशालाको भनाइ छ । अम्लीयपनले माटो बिग्रिँदै गएको र उत्पादनमा कमी आएको छ । प्रांगारिक मलको मात्रा बढाएर माटोलाई बिग्रिनबाट जोगाउँन सकिने सुझाव छ माटो बिज्ञ हरिबहादुर भुजेलको । प्रयोगशालाका माटोविज्ञ हरिबहादुर भुजेल माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण रासायनिक मलको बढ्दो प्रयोग भएको बताउँछन् । बस्तु पाल्ने र गोबर मल हाल्ने चलननै हराईसकेको भन्दै उनी किसानहरूले माटो परीक्षणनै नगरी रासायनिक मलको प्रयोग ज्यादा हुनाले माटो बिग्रिरहेको बताउँछन् । झापामा मात्र नभई प्रदेश १ का १४ वटै जिल्लामा माटोमा अम्लीयपन बढ्दै गएको भुजेलको भनाइ छ । उर्बराशक्ती बढाउँने नाममा रसायनिक मलको प्रयोगले माटोलाई गम्भिर अशर गरिरहेको तर यसप्रति कसैले चासो नदिएको उनी बताउँछन् । अम्लीयपन घटाउँन चक्रीय प्रणालीअनुरूप बाली लगाउन माटोविज्ञ भुजेलले सुझाव दिएका छन् । सिजनअनुसार धान, गहुँ रोपेपछि, तरकारी, फलफूल, कोसेबाली लगाउनुपर्ने उनको सुझाव छ । “मास, मुग दालजस्ता बाली लगाउनाले जमिन उर्वर हुने र त्यस्ता बालीले माटोको अम्लीयपन घटाउन मद्धत गर्छ । मानिसलाई खानाको जति आवश्यक पर्छ विरुवाका लागि त्यति नै आवश्यक तत्व माटोमा हुन्छ । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिन्छ । हाम्रो शरिरको बेला बेला हामीले परीक्षण गरेजस्तै माटोको पनि परीक्षण अनिबार्य छ । भुजेलले भने । ” बालीअनुसार अम्लीय आवश्यकताको मात्रा फरक हुने भुजेल बताउनुहुन्छ । अम्लीयपन बढे उत्पादन स्वतः घट्ने उनले बताए । अम्लीयपनको मात्रा यसरीनै बढे तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमै शून्यमा झर्ने स्थिति रहेको माटोविज्ञको चेतावनी रहेको छ । जमिन ५ दशमलब ५ देखि ६ दशमलब ५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । ४ दशमलब ५ देखि ५ दशमलब ६ सम्म हुँदा चिया खेती गर्न सकिन्छ । तर, ५ दशमलब ५ देखि तल झरेपछि क्रमशः उत्पादन घट्दै जाने र माटो सुधार्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ । पूर्वका ६० देखि ६५ प्रतिशत जमिनका माटो अम्लीय रहेको प्राविधिकहरुले जनाएका छन । अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका पूर्वी तराईका करीब ६० प्रतिशत खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशालाले जानकारी दिएको छ । माटोमा अम्ल वर्षाैंदेखि क्रमशः बढ्दै गएको माटो परीक्षण प्रयोगशालाका प्राविधिकहरुले बताएका छन् । माटोमा अम्ल बढ्नाले उत्पादनमा ह्रास आउने कृषि विज्ञहरु बताउँछन ।

सम्बन्धित खबर