बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

माइग्रेनको समस्या के हो ? कसरी बच्ने?

Posted by:
बिहिवार, असोज १४, २०७८

काठमाडौं - माइग्रेन एक किसिमको टाउको दुखाई हो। यसमा बिरामीलाई अचाक्ली नै टाउको दुख्छ। सामान्यतया यो दुखाई ४ देखि ७२ घण्टासम्म पनि रहन सक्छ। 

मानिसको व्यस्त र तनावपूर्ण जीवनशैलीले माइग्रेनको समस्यालाई निम्त्याइरहेको छ। माइग्रेन सबै उमेरका व्यक्तिलाई हुन सक्छ। तर युवा र महिलालाई यो समस्याले बढी सताउँछ। त्यसमा पनि मोटोपन भएको, गर्भनिरोधक चक्की खाइरहने महिला र तनाव धेरै लिने मानिसलाई माइग्रेन हुने गरेको सिनियर कन्सल्टेण्ट न्यूरोलोजिस्ट डा पारस रायमाझी बताउँछन्। उनी हाल वीर अस्पताल र ब्लु क्रस अस्पतालमा कार्यरत छन्।

समयमै उपचार गरे समस्यामा सुधार हुने माइग्रेन लापरबाही गरे जटिल बन्दै जान्छ। उपचार सुरु गरेको ६ महिनाभित्र माइग्रेनमा सुधार हुने डा रायमाझीले बताए। 

माइग्रेन किन हुन्छ? यसले निम्त्याउने जटिलताहरु के के छन्? कसरी बच्ने लगायत विषयमा हामीले डा रायमाझीसँग थप बुझ्ने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

माइग्रेन कस्तो समस्या हो?
– माइग्रेन एक किसिमको टाउको दुखाई हो।
– माइग्रेन हुनुको यकिन कारण अहिलेसम्म पत्ता लागेको छैन।
– टाउको एक भाग दुख्छ। र, सामान्यतया यो दुखाई ४ देखि ७२ घण्टासम्म रहन्छ।

माइग्रेन कसलाई हुन्छ?
– माइग्रेन सबै उमेरमा देखिन सक्छ।
– तर युवा र महिलालाई माइग्रेनको समस्या बढी देखिन्छ।

माइग्रेनले कस्तो व्यक्तिहरुलाई बढी सताउँछ? 
– मोटोपन भएको, गर्भनिरोधक चक्की खाइरहने महिलाहरुलाई हुन्छ।
– तनाव धेरै लिने मानिसहरुमा पनि माइग्रेन हुन्छ।
– कसैलाई विभिन्न गन्ध, खानाले पनि माइग्रेन अट्याक हुन सक्छ।

माइग्रेनले निम्त्याउने जटिलताहरु के के छन्?
– माइग्रेन लामो समय भए बिरामी दीर्घ माइग्रेनमा जान्छ।
– दीर्घ माइग्रेन भए सामान्य खालको औषधिले हुँदैन। विशेष उपचारको खाँचो पर्छ।
– कुनै बेला माइग्रेनमा हुने टाउको दुखाई ७२ घण्टाभन्दा बढी पनि हुन सक्छ। 
– माइग्रेन भएको बिरामीलाई कहिले काँही केही समयका लागि पक्षघात पनि हुने गरेको छ।

माइग्रेन र डिप्रेसनको सम्बन्ध के हुन्छ?
– अहिले माइग्रेन भएको बिरामीमा डिप्रेसनको समस्या पाइएको छ। 
– माइग्रेन भएको आधाजति बिरामीले सहन सक्छन् भने आधाजतिले एक्लै कोठामा बस्ने, औषधि खाने गर्छन्।

कोरोना र लकडाउनले माइग्रेनको समस्या बढाएको छ?
– पोस्ट कोभिड कम्प्लीकेशनमा टाउको दुख्ने समस्या धेरै आम भइसक्यो।
– कोभिडले टाउकाको रक्तनलीमा क्षति गर्दा स्ट्रोक भएर पनि आउँछन्।

नेपालमा माइग्रेनको समस्या कस्तो छ?
– नेपालमा माइग्रेनको समस्या बढ्दो छ।
– टाउको दुखेर आउने अधिकांश बिरामीमा माइग्रेनको समस्या पाइन्छ।
– बढीरहेको तनावले माइग्रेनको समस्यालाई पनि बढाइरहेको छ।

माइग्रेनको समस्या बारे मानिसहरु कतिको सचेत छन्?
– अहिले मानिसहरु माइग्रेनको विषयमा सचेत छन्।
– माइग्रेनमा के गर्ने/नगर्ने, के खाने/नखाने विषयमा बिरामीहरु सचेत भएको पाएको छु।
– बिरामीहरु उपचारमा आउने पनि गरेका छन्।

खाना र वातावरणसँग माइग्रेनको कस्तो सम्बन्ध छ?
– खानाले मात्र माइग्रेन बढाउँछ भन्ने कुरा एकदम कम हो। 
– परफ्युम, पेट्रोलको गन्धले असर गर्छ, यो अवस्थालाई ओस्मोफोबिया भनिन्छ।

माइग्रेनको उपचार के छन्?
– जुन कुराले टाउको दुख्छ, त्यसबाट टाढा रहने।
– जीवनशैलीमा परिवर्तन गर्ने, तनावमुक्त रहने, योग तथा ध्यान गर्ने।
– जीवनशैलमा गरिएको परिवर्तनले नभए प्रिभेन्टिभ थेरापीमा जान्छौं।
– प्रिभेन्टिभ थेरापीमा बिरामीलाई अवस्था अनुसार माइग्रेनको औषधि दिन्छौँ।
– उपचार सुरु गर्दा हामीले ५० प्रतिशत सुधार हुने अपेक्षा गर्छौं।
– उपचार सुरु गरेपछि बिरामीमा सुधार आउन कम्तीमा ३ महिना र पुरा निको हुन ६ महिना लाग्छ।  

अन्त्यमा यहाँको सुझाव के छन्?
– चारमध्ये तीन जनालाई आफ्नो माइग्रेनको कारण थाहा हुन्छ। 
– जीवनशैलीमा परिवर्तन गर्ने, सकेसम्म तनावमुक्त वातावरणमा काम गर्ने।
– समयमा औषधि खाने र चिकित्सकको सम्पर्कमा रहने।
– माइग्रेनका बिरामीले लापरबाही गरे मात्र यसले विभिन्न जटिलता निम्त्याउने हो।
– माइग्रेनले दुख दिन्छ तर डराउनुपर्दैन।

  • स्वास्थ्य खबर पत्रीका बाट
सम्बन्धित खबर