बुधवार, असोज ३०, २०८१
Sancharmanch

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्ती

Posted by: tajasanchar
शुक्रवार, असोज ८, २०७८

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।

विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।”प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गर्नुभयो । उहाँले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गर्नुभयो ।

राष्ट्रकवि घिमिरेका कान्छा छोरा इञ्जीनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाउनुभयो ।

सम्बन्धित खबर